सवारीचालक अनुमति पत्रका लागि सात लाखको आवेदन

सवारी चालक अनुमति पत्रका लागि परीक्षाको प्रतिक्षा गर्नेको संख्या सात लाख नाघेको छ । चैतदेखि मंसीरसम्म नौ महिना परीक्षा नभएको असर चाप थेगि नसक्नु भएको हो । अहिले आवेदन भर्नेले परीक्षा दिन कम्तिमा ५ महिना कुर्नुपर्ने बाध्यता छ । 

सवारी चालक अनुमति पत्रको परीक्षाका लागि आवेदन अनलाइनबाट दिन सक्ने व्यवस्था छ । अनलाइनकै कारण आवेदन भर्नेको संख्या सात लाख नाघेको छ । तर तीनले आवेदन भरेजस्तो लिखित र प्रयोगात्मक परीक्षा भने चाँडो दिन पाउने छैनन् । चापका कारण यातायात व्यवस्था विभागले अहिले आवेदन बुझाउनेलाई ५ महिनापछि मात्र पालो आउँछ भनिरहेको छ । जसका कारण खासगरी रोजगारी र अध्ययनका लागि विदेश जान हतारिएकाहरु सबैभन्दा बढी प्रभावित भएका छन् । 

अहिले देशभरका १८ वटा यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा हुन्छ । ती कार्यालयले दिनमा साढे ६ हजारदेखि सात हजारको परीक्षा लिने गरेका छन् । उनीहरुले चाप घटाउनका लागि ट्रायल सेन्टर थप्ने विकल्प अघि सारेपनि निर्णय हुन सकेको छैन । खासगरी ट्रायल परीक्षा संचालनको ठेक्का पाएका निजी ट्रायल सेन्टरको दबाबमा निर्णय गर्न अलमल गरिएको हो । नयाँ ट्रायल सेन्टर थपे आफ्नो एकलौटी व्यापार गुम्ने भयका कारण सञ्चालकहरुले दबाब दिएका हुन् । सिण्डिकेटधारी व्यवसायीले दबाब दिइरहँदा विभाग र मन्त्रालय भने परीक्षालाई छिटो छरितो बनाउने विषयमा मौनजस्तै छन् । 

सूचिमा रहेका परीक्षार्थीको संख्या कम गर्न बन्द अवस्थामा रहेका सरकारी ट्रायल सेन्टर सञ्चालनमा ल्याउन सक्ने विकल्प पनि छ । तर यो विकल्पमा विभाग र मन्त्रालयको ध्यानै छैन । 

Leave a Reply