काठमाडौंका रिकन्डिसनमा अवैध धन्दा : कागजातविनै मोटरसाइकल खरिद–बिक्री

चाडपर्व सकिए पनि टेकुस्थित हिरो मोटरसाइकलको सोरुम (एनजिएम हिरो बुधबारी)मा नयाँ मोटरसाइकल खरिद गर्न आउनेको भिडभाड उस्तै थियो । २३ मंसिरको त्यही भिडमा आफूलाई व्यवसायी बताउने ३० वर्षीय जोनी महर्जन पनि थिए । सोरुमका प्रबन्धक विवेक मानन्धरसँग उनले आफ्नो कार्यालयका लागि दुईवटा मोटरसाइकल आवश्यक भएको बताए । र, कुन मोडेलका बाइक ठीक होलान् भनेर जिज्ञासा राखे । केही समय छलफलपछि उनले एसप्लस मोडेलका दुई मोटरसाइकल खरिद गर्ने भए । दसैँ–तिहारको अफर बाँकी थियो, कम्पनीले उनलाई दुईवटा मोटरसाइकलमा १६ हजार छुट दिई सात लाख ६० हजार रुपैयाँमा बिक्री ग¥यो । कम्पनीको नामको चेक दिएर महर्जनले दुईजना युवा बोलाए र सोही दिन मोटरसाइकल लिएर गए ।

कार्यालयका लागि मोटरसाइकल खरिद गरेको भनेकाले कम्पनीको नाममा रहेको चेक लिन सोरुमका म्यानेजर मानन्धर पनि तयार भए । तत्काल चेक साट्न पठाए । तर, बैंकले थोरै ब्यालेन्स नपुगेको बताउँदै चेक फिर्ता दियो । ‘व्यापार गर्ने मान्छेको खातामा कहिलेकाहीँ ब्यालेन्स तलमाथि भइहाल्छ भन्ने लाग्यो,’ मानन्धर भन्छन् ।
 
कुनै शंका नगरी उनले मोटरसाइकल खरिद गर्ने महर्जनलाई फोन गरे । महर्जनले कम्पनीको खातामै पैसा हालिदिने बताउँदै खाता नम्बर मागे । आफन्तको बिहेमा व्यस्त भएको भन्दै केही दिनपछि पैसा जम्मा गरेको भौचर ल्याइदिने महर्जनले बताए । मानन्धरले पनि विश्वास गरे । बिल नदिइसकेकाले पनि उनी पैसा बुझाउनेमा ढुक्क थिए । तर, दुई÷चार दिनसम्म पनि उनी सम्पर्कमा आएनन् । व्यक्तिगत काममा व्यस्त भएको भन्दै टार्दै गए ।

त्यहीबीचमा मानन्धरले थाहा पाए– काठमाडौंमा त्यसैगरी एक समूहले धेरैवटा मोटरसाइकल सोरुमलाई ठगी गरिरहेको छ । ठीक एक दिनअघि हिरोकै अर्काे सोरुममा त्यसैगरी ठगी भएको थियो । ‘पछि फोन गर्दा उसको फोन स्विच्अफ थियो, बुझ्दा त पक्राउ परिसकेको रहेछ,’ मानन्धर भन्छन्, ‘हामीलाई पनि ठगेको रहेछ भन्ने त्यसपछि मात्र थाहा भयो । यसरी ठगी होला भनेर कहिल्यै सोचेकै थिइनँ ।’

उनले बिक्री गरेका दुई मोटरसाइकल २३ मंसिरमै महर्जनले रविभवनस्थित बिएस अटोमोबाइल्स एन्ड रिकन्डिसनमा लगेर बिक्री गरिसकेका थिए । सो अटोमोबाइल्सले पनि ग्राहकलाई बिक्री गरिसकेको थियो ।

उपत्यकाका अन्य एक दर्जन सोरुममा यसैगरी ठगी भएको छ । यो नयाँ किसिमको अपराधका मास्टरमाइन्ड बलम्बुका ३० वर्षीय जोनी महर्जन भएको खुलेको छ, जसले टेकुस्थित हिरो मोटरसाइकलको सोरुमलाई ठगी गरेका थिए ।

सोरुमबाट नयाँ मोटरसाइकल खरिद गर्ने, कम्पनीको नामको ब्यालेन्स नभएको खाताको चेक दिने र रिकन्डिसनलाई तत्काल नयाँ मोटरसाइकल र स्कुटी बिक्री गर्ने । उनको यो ठगी धन्दा भने लामो समय चलेन । महानगरीय प्रहरी वृत्त कालीमाटीले महर्जन र उनका सहयोगी राजकुमार खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनले हालसम्म ४० लाखभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।

यस्तै, सवारीसाधनको अवैध कारोबार गरेको आरोपमा रविभवनस्थित बिएस अटो मोबाइल्स एन्ड रिकन्डिसनका सञ्चालन सबिनराज गिरी र उनका भाइ गोकर्ण गिरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तो ठगीमा गिरी दाजुभाइको मिलेमतो देखिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिलराज बोहरा बताउँछन् । महर्जनले त्यसरी ठगी गरी लगेका चारवटा एसप्लस मोटरसाइकल र ११ वटा टिभिएस स्कुटी प्रहरीले बरामद गरेको छ ।

‘महर्जनले धेरैवटा सोरुममा ठगी गरेको पाइएको छ,’ डिएसपी बोहरा भन्छन्, ‘अन्य प्रहरी कार्यालयबाट पनि त्यसबारे अनुसन्धान भइरहेको छ ।’ महर्जनले कात्तिक र मंसिरमा २० वटाभन्दा बढी मोटरसाइकल र स्कुटर सोरुमबाट निकालेर तत्काल बिक्री गरी ठगी गरेको प्रहरी अनुमान छ । तीमध्ये टिभिएस ब्रान्डका ११ वटा स्कुटर प्रहरीले बरामद गरिसकेको छ ।

जगदम्बा अटोमोबाइल्स इन्जिनियरिङका कानुनी विभाग प्रमुख सुशील खतिवडाका अनुसार महर्जनको समूहले तीनवटा सोरुमबाट ११ वटा स्कुटर ठगी गरेको हो । सुन्धारा, कुमारीपाटी र ठूलोभ¥याङस्थित सोरुमबाट कम्पनीको नाममा खरिद गरेर पैसा नभएको चेक दिई ठगी भएको उनी बताउँछन् । ‘दसैँ–तिहारको हुलमुलका वेला यस्तो ठगी भयो,’ खतिवडा भन्छन्, ‘त्यसविरुद्ध हामीले उजुरी गरेका छौँ । कम्पनीका लागि भनेर एउटै सोरुमबाट उनले तीन÷चारवटा सम्म मोटरसाइकल र स्कुटर एकैपटक खरिद गर्थे ।’

नक्सालमा लक्जरी ट्राभल्स एन्ड टुर्स चलाउने महर्जनले आर्थिक संकट परेपछि ठगी सुरु गरेको प्रहरीलाई बयान दिएका छन् । उनकै कर्मचारी राजकुमार खड्काले उनलाई सहयोग गर्दै आएका थिए । यस सम्बन्धमा यसअघि नै प्रहरीमा उजुरी परिसकेको थियो । महानगरीय अपराध महाशाखा र थानकोट वृत्तले पनि उनको खोजी गरिरहेका थिए । विगतमा मोटरसाइकलको सोरुमसमेत चलाएकाले त्यहीँबाट उनले यस्तो ठगी गर्न सिकेको बयान प्रहरीलाई दिएका छन् ।

रिकन्डिसनमा अवैध किनबेच
यस्तो ठगीमा रिकन्डिसनको समेत बदमासी देखिएको प्रहरीले जनाएको छ । उनीहरूले ब्लुबुकविनै नयाँ मोटरसाइकल खरिद–बिक्री गर्दै आएको खुलेको छ । रविभवनको रिकन्डिसनका सञ्चालक पक्राउ परे पनि अरू फरार छन् । बानेश्वर र महाराजगन्जका रिकन्डिसनमा पनि उनले सोरुममा भन्दा करिब २० हजार रुपैयाँ सस्तोमा मोटरसाइकल र स्कुटर बिक्री गर्थे ।

कतिपय रिकन्डिसन सञ्चालकले चोरीका मोटरसाइकलसमेत यसैगरी कारोबार गर्ने सूचना आएको प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल अटोमोबाइल्स रिकन्डिसन व्यवसायी संघका अध्यक्ष दिनेश महत यो घटनामा सम्बन्धित रिकन्डिसन कम्पनीको गल्ती भएको बताउँछन् । ‘सवारीधनीको सहमतिविना हामीले कुनै सवारीसाधन किनबेच गर्न मिल्दैन,’ उनी भन्छन्, ‘यो घटनामा केही व्यवसायी लोभमा परेको देखियो ।’ रिकन्डिसन कम्पनीहरूबाट हुने अवैध काम नियन्त्रणमा आफूहरूले प्रहरीलाई सहयोग गर्दै आएको उनी बताउँछन् ।

Leave a Reply